कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा शनिबार एक मालवाहक ट्रक दुर्घटनामा परेको छ ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक कालिकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडस्थित पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालकको मृत्यु भएको छ । उनको पहिचान खुलिनसकेको कालिकोट प्रहरीले जनाएको छ । कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ट्रक सडकबाट अन्दाजी करिब ५० मिटर तल खोलामा खसेको छ ।
‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भयो । गाडीका कागजात भेटिएपछि मात्रै चालकको सनाखत हुन्छ’ उनले भने । उनले घटनबारे थप अनुसन्धान जारी रहेको बताए । अघिल्लो महिना पनि यसै ठाउँमा जीप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए ।