Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बीपी राजमार्ग आज रातभर बन्द हुने

नयाँ ट्रयाक खोलेर सञ्चालनमा ल्याइएको बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्डमा आज बुधबार रातभर सवारी आवागमन बन्द गरिएको छ । 

असोज दोस्रो साताको बाढी–पहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेंसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

तर, नयाँ ट्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

काठमाडौंसँग पूर्वी नेपाललाई जोड्ने छोटो दूरीको वीपी राजमार्ग सडक बिभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो ।

काठमाडौ र पूर्वी नेपाल जोड्ने वीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे । सडक खुलेपछि राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रु तथा दशैंमा टीका लगाएर काठमाडौँ फर्किएका यात्रुहरूको सवारीसाधनले सवारी जाम भएको थियो । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गरी २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो ।