Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

काठमाडौंमा कुटपिट गरी एक व्यक्तिको हत्या, महिलासहित तीन जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भई कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।

मंगलबार अपराह्न ३ः२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । 

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।