Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

जलेश्वरमा १० दिन पूजाअर्चना गरिएको दुर्गा मूर्ति विसर्जन

बडादसैंको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ ।

दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए ।

दुर्गा चोकबाट छट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई बुद्धीजीवीचोक, जिरोमाइल चोक, अस्पतालचोक, साहुजीपट्टी, नगरपालिका चोक, शङ्करचोक हुँदै नगर परिक्रमा गरी  बरुण सरोवर पुर्‍याइ सेलाइएको हो ।

दुर्गा मूर्ति विसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै रणभीम गणका नेपाली सेनाको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

बडादसैँको १० दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवीदेवतालाई आज बिहान पुनः पण्डित ललित झा र पूजाकर्ता रामजीवन साहले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा विसर्जन गरेका थिए ।