रुकुम पश्चिममा दसैंको टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय बुद्धिराम बोहरा टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेका थिए । मठ र सल्ले जोड्ने झोलुङ्गे पुलको माथिबाट झण्डै ६ सय मिटरमुनि हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले जानकारी दिए ।
श्रीमतीले सम्बन्ध विच्छेद (डिभोर्स) मागेको हुँदा बुद्धिरामले पुलबाट हाम फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको डिएसपी पोख्रेलले बताए । घटनामा घरायसी समस्या देखिएको प्रहरीको भनाई छ ।
श्रीमतीले डिभोर्स मागेको हुँदा मरिदिन्छु भन्दै हाम फालेको भन्ने खुलेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक युवकले पुलबाट हाम फालेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक नेतृत्वको ११ सदस्य टोली घटनास्थल पुगेको थियो । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।