Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बडादसैँको दिनमा पनि बागमती सफाइ महाअभियान निरन्तरता

बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रुपमा बागमती सफाइ हुँदै आएको छ ।

बागमती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिए।

बिहान ७ देखि ९ बजेसम्म १० जना सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उनले दिए । अभियानकर्मीले उठाएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रुपमा हुँदै आएको छ । बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ ।

स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।