Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

अब रेडियो नेपाल र नेपाल टेलिभिजन एकै छातामुनि

संघीय संसदका दुवै सदनबाट पारित भएर आएको सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । विधेयक प्रमाणीकरणसँगै सार्वजनिक सेवा प्रसारण ऐन, २०७७ को रूप लिएको छ । यो सँगै दुईवटा सरकारी प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गर्ने बाटो खुलेको छ ।

यो ऐन प्रमाणीकरणसँगै कानुनी रुपमा दुवै संस्था एउटै छातामुनी आएका छन्। प्रमाणीकरण भएको यो ऐनको परिच्छेद २, दफा ३ को उपदफा ३ ले ‘यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गरिनेछ’ भनेको छ ।

यो विधेयकलाई २०७७ असार १५ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारीमा रहेका डा। युवराज खतिवडाले राष्ट्रिय सभामा पेस गरेका थिए । यो विधेयकमाथि लामो छलफलपछि गत भदौमा संघीय संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।