Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

भारतीय स्वामित्वमा रहेको एसजेवीएनबाट एक करोड सहयोग

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।  एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूलाई राहत उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । 

कम्पनीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमै पुगेर चेक हस्तान्तरण गरेको छ । एसजेवीएनका प्रमुख प्रशासकीय अधिकृत (सीईओ)  प्रशान्त शर्मा, प्रमुख वित्तीय अधिकृत ओडी चौधरी, उपमहाप्रबन्धक गौरव सुद र कम्पनी सचिव सुजित कुमार झाले प्रधानमन्त्रीलाई भेटेर उक्त रकमको चेक  हस्तान्तरण गरेका थिए । अविरल वर्षाले गर्दा देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षतिको विषयलाई मध्यनजर गर्दै राहत स्वरुप सो रकम सरकारलाई उपलब्ध गराएको एसजेवीएनका सचिव सुजित कुमार झाले बताए । 

उनले भने, ‘नेपालमा गत सातादेखि परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ, यस विनाशलाई कम गर्न यो रकम कम्पनी मार्फत् दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हौ । एसजेवीएनले नेपालमा धनजनको क्षति भई अफ्ठयारो सिर्जना हुँदा ठूलो आर्थिक सहयोग गर्दै आएका छ ।’     

एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगिसकेको छ । झाका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।