Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सरकारले ‘क्याविन क्रु’ को उमेर हद ५० वर्ष पुर्‍यायो

सरकारले विमान परिचारक-परिचारिका –क्याविन क्रु को ४५ वर्षे उमेर हद ५० वर्ष पुर्‍याउने भएको छ । चालक दलका सदस्यहरूसँग आज भएको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उमेर हद ५० बढाउन निर्देशन दिएका हुन् ।

आन्दोलनरत चालक दलका सदस्यहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले उनीहरूले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरूको सुनुवाइ नभएको समस्या राखेको बताएका छन् । उनले अदालतमा रहेका मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए ।

उनले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानी हेर्दा पनि उमेरहद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने बताए । मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक र परिचारिकाहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने बताएको मन्त्री पाण्डेले उल्लेख गरे ।

मन्त्री पाण्डेले भने, ‘क्याबिन क्रु मेम्बरहरूले भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, विषय राख्नुभएको थियो । ४५ वर्षको उमेरहद ५० वर्ष पुर्‍याउन कुनै समस्या हुँदैन, किनभने नेपालका सन्दर्भमा हाम्रो औसत आयु पनि बढेको अवस्था छ । उहाँहरूले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ ।’ क्याबिन क्रुको हडतालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौँ–दुबई उडान स्थगित भएको थियो । यसबाट ३२८ यात्रु अलपत्र परेका थिए ।