Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दशैंको मुखमा पनि देश छाड्नेहरुको ‘लर्को’

वर्ष दिनमा आउने चाडपर्व परिवारसँगै बसेर रमाइलोसँग मनाउने दशैं–तिहारको मुखमा पनि देश छाड्नेहरुको ‘लर्को’ कम छैन । 

महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्या पनि उतिक्कै बाक्लो छ । रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ । अधिकांश नेपालीहरु दशैंको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । अहिले दशैं मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरुको भनाइ छ ।

चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।