Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मन्थली–काठमाडौं आवागमन फेरि अवरुद्ध

लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । 

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेंसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो ।  

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् ।

अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।