Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज शुक्रबार एकैदिन तीन करोड भन्दा बढी रकम जम्मा भएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । 

कोषमा कृषि विकास बैंकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रकम हस्तान्तरण भएको हो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरुको पाकिसकेको बाली समेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए । 

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।