Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

नेपालबाट ४० मेगावाट बिजुली बंगलादेशमा बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

पाँच महिनामा एक लाख ४४ हजार मेगावाट बिजुली निर्यात

नेपालबाट ४० मेगावाट विजुली बंगलादेशलाई बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा आज (बिहीबार) हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो ।  प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसअघि ४० मेगावाट बिजुली बिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो ।

तर सम्झौताको तयारी भइरहेका बेला बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्काएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौता अन्योलमा पर्छ कि भन्ने आशंका बढेको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख डा. मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएसँगै सम्झौता भएको हो । 

प्राधिकरणले वर्षायामका पाँच (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बर) सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी भएको छ । जसअनुसार पाँच महिनामा एकलाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुने जनाइएको छ । प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जानकारी दिएको छ ।