काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको हायस माइक्रोबस नुवाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५३५ नम्बरको हायस सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका ११ जनाको उद्धार गरि काठमाडौं पठाइएको छ। दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
शिवपुर गाउँपालिका–७, चापागोठ भन्ने स्थानमा ग१ख ४५३५ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । उक्त हायसमा १८ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी तिलक भारतीले जानकारी दिए । “१२ जनालाई हस्पिटल काठमाडौंमा पठाइएको छ । १८ जनामा अरू घाइते छैनन् । अरूलाई चोट छैन,” दुर्घटनास्थलमा रहेका भारतीले भने ।
हायस सडकबाट करिब ३० मिटर तल खसेको उनले जानकारी दिए । उनले यसअघि हायस १०० मिटर तल खसेको बताएका थिए । तर, यकिन गरी हेर्दा ३० मिटरजति देखिएको उनले स्पष्ट पारे । उनका अनुसार, हायस सडकबाट खसेर रुखमा अड्किएको छ । रुखमा अड्किएकाले यात्रु जोगिएको उनको भनाइ छ ।
चालकको अवस्था पनि सामान्य रहेको उनले बताए । ब्रेक नलागेकाले मोड्न नसकेर गाडी खसेको चालकले बताएको उनले जानकारी दिए ।