कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट बाढी बग्न थालेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ ।
सप्तकोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन १९६८ सालमा कोशीमा आजको भन्दा बढी पानी बगेको थियो । सो बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी क्यारेज हुँदै बगेको थियो ।
कोशी बाराज कन्ट्रोल रुमका अनुसार ५६ वर्ष यता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको जनाको छ । अहिले केही पानी बाराज माथिबाट बगिरहेको छ । २०११ सालमा कोशी सम्झौता भएपछि भारत तर्फ पानी लैजानका लागि इन्टेक बनाउन बाराजको निर्माण भएको हो । ब्यारेज पुरानो भएका कारण पटक–पटक खतरा हुने चेतावनी दिइँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पानी ब्यारेज माथिबाट बगेको बताए । ब्यारेज हुँदै पूर्व पश्चिम सडक खण्डमा सवारी साधन सञ्चालन हुने गर्छन् । पानीको बहाव उच्च भएका कारण दिउँसोबाट बाराजबाट आवतजावत बन्द गरिएको छ । अहिले बाराजका सबै ५६ वटै ढोका खुल्ला गरिएको छ ।
भारतको बिहार सरकार जल तथा संशाधन विभागले आज कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ । कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
एसपी रेग्मीले ठाउँ ठाउँमा उद्धार टोली पनि परिचालन गरिएको जानकारी दिए । पहाडी जिल्लाहरूमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्न सक्ने अनुमान छ । २ दिनयताको अविरल वर्षाका कारण सप्तकोशीसहित पूर्वका विभिन्न खोला तथा नदीहरुको बहाव अत्यधिक बढेको छ ।