Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्व डीआइजी जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सहकारी वचत रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कास्कीका एसपी मोहन थापाले जानकारी दिएका छन् । आइतबार काठमाडौंबाट पक्राउ परेका पूर्व डीआइजी समेत रहेका जोशीलाई शुरूमा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

सो म्याद सकिएसँगै आज शुक्रबार उनलाई अदालतमा उपस्थित गराइएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । 

गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले उनी विदेश भाग्न खोजेपछि पक्राउ गरेको जनाएको थियो ।