अविरल वर्षका कारण नौबिसे-काठमाडौं सडक अवरुद्ध भएको छ । नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ।
प्रहरीका अनुसार सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसक्दा बाटो बन्दले सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ । शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो ।
पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो पन्छाउन डोजर नपुगेको स्थानीयले बताएका छन् । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने अवस्था छ।