Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दूधकोशीमा बेपत्ता युवक नभेटिएपछि फर्कियो गोताखोर टोली

माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । 

यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोशीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो । 

मगर मङ्गलटारमै पर्ने कुखुरेबेंसीबाट बेपत्ता भएका थिए । बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो । 

केही दिनदेखि परेको अविरल वर्षाले नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिए ।

‘कोशीमा बाढी आइरहेको छ । गोताखोर टोली आए लगत्तै खोजी तीव्र पारिएको थियो’, उनले भने, ‘घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ । कोशीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो ।’