Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

छविलाल जोशी प्रहरी हिरासतमै बिरामी, बयान रोकेर लगियो अस्पताल

सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा ल्याई अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी बिरामी परेका छन् । काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका जोशी बिरामी परेपछि उनको बयान लिने काम रोकिएको छ । 

जोशीविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित मुद्दाको अनुसन्धान गरिरहेको छ । बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लैजानु पर्ने जोशी बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएको छ । उनलाई हल्का निमोनियाको लक्षण देखिएको प्रहरीले जनाएको छ ।

रुघाखोकीको समस्या समेत देखिएकाले  तत्काललाई बयानमा नलगिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । जोशीलाई मंगलबार दुई घण्टा सरकारी वकिल कार्यालयमा सोधपुछ गरिएको थियो । उनी बुधबारदेखि बिरामी भएको प्रहरीले जनाएको छ ।

गोरखा मिडिया नेटवर्कमा अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका व्यापारिक साझेदार छविले सहकारीको रकम अपचलनबारे आफूलाई जानकारी नभएको संसदीय विशेष छानबिन समितिमा बयान दिएका थिए । समितिले जीबी, रवि र छविसहितलाई कारबाहीको सिफारिस गरेको थियो ।

जीबी राई अहिले फरार छन् । प्रहरीले यसअघि रविलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो । तर, अब छविको बयानपछि मात्रै रविलाई पक्राउ गर्ने कास्की प्रहरीको तयारी छ । छविलाई संगठित अपराधमा मुद्दा दर्ता गरेकाले रविलाई पक्राउ गरेर बयान नलिई मुद्दा नटुंगिने प्रहरीले जनाएको छ । छविले प्रहरीले पक्राउ गर्दा नै आफूभन्दा धेरै जानकारी रवि र जीबीलाई भएको भन्दै उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न भनेका थिए । मलेसियामा लुकेर बसेका भनिएका जीबीविरुद्ध डिफ्यूजन र रेड नोटिस जारी भइसकेको छ ।