Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सांसदका छोराको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री युवकको मृत्यु

कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलले ठक्कर दिंदा पैदल हिंडिरहेका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा घाइते झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका–१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका अक्षतले हाँकेको प्रदेश १–०२–०४४ प ८४४ नम्बरको मोटरसाइकलले ४ दिनअघि पैदल यात्रामा रहेका आकाशलाई ठक्कर दिएको थियो ।  गम्भीर घाइते आकाशलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा–१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भदौ ५ गते शनिबार साँझ ७ः१० बजेतिर आकाशलाई ठक्कर दिएको थियो । 

बाटो काट्दै गर्दा दुर्घटनामा परेका आकाशको उपचारका क्रममा बुधबार बिहानका राति २ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । बूढीगंगा–१ मा कोठा भाडामा लिएर बस्ने आकाश र उनकी पत्नी उषा तामाङ स्थानीय अमन होटलमा काम गर्थे । 

दुर्घटनामा मोटरसाइकल चालक अक्षत माझी पनि घाइते भएका छन् । टाउको, अनुहार, हात–खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराटमै उपचार भइरहेको जानकारी डीएसपी बस्नेतले दिए । प्रहरीका अनुसार मोटरसाइकल चालक अक्षतसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन । लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मोटरसाइकल अक्षतकै नाममा छ । 

‘बिना लाइसेन्सका मोटरसाइकल चालक सांसदका छोरा हुन् । अहिलेसम्म अस्पतालमै रहेका उनलाई जोगाउन अनेक चलेखल हुँदैछ,’ प्रहरी स्रोतले सुनायो । सत्ताको पहुँचका भरमा भित्रभित्रै घटनालाई मिलाउने र दबाउने प्रयास भइरहेको स्रोत बताउँछ ।  अक्षतविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ । मृतक आकाशका परिवारले सवारी ज्यान मुद्दामा दिएको जाहेरीका आधारमा घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । 

उनका अनुसार शवको विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ । परिवारका सदस्यले अन्त्येष्टिका लागि शव जिम्मा लिएर लगिसकेका छन् ।