Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको सुनुवाइ अब फेरि शून्यबाट

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको सुनुवाइ फेरि शून्यबाट सुरु हुने भएको छ ।

 आज बुधबार संवैधानिक इजलासले निर्णय नदिएपछि अब नयाँ प्रधानन्यायाधीशको नेतृत्वमा अर्को इजलासमा सुरूबाटै सुनुवाइ गर्नुपर्ने भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको थियो । काभ्रेका अर्जुन लामाको अपहरण र हत्या आरोपमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै १२ वर्ष पहिले दर्ता भएको रिटमा संवैधानिक इजलासले गत जेठ २३ गते नै सुनुवाइ सकेर निर्णय सुनाउने दिन तोकेको थियो ।

पूर्व निर्धारित इजलास प्रभावित हुने गरी वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत पूर्व निर्धारित इजलास प्रभावित हुने गरी बाग्लुङ पुगेका थिए । त्यसपछि भदौ १२ गते निर्णय सुनाउने दिन तोकिए पनि सर्वोच्चले निर्णय दिएको थिएन । आज असोज ९ गते निर्णय सुनाउने भनेर पेसीसूचीमा चढाए पनि कुनै निर्णय नदिएर अन्य ‘आदेश’ गरिएको छ ।  अब असोज २० बाट प्रधानन्यायाधीश श्रेष्ठ र कात्तिक ४ बाट न्यायाधीश ढुंगाना अवकाश हुँदैछन् । यी दुवैले मुद्दाको सुनुवाइका लागि इजलास बस्न यसअघि नै छाडिसकेका थिए । त्यसैले अब नयाँ इजलास गठन हुँदा सुरूबाटै सुनुवाइ गर्नुपर्नेछ ।

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

 द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ । लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए ।