Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

३५ रुपैयाँ पर्ने पानीलाई सय रुपैयाँमा बेच्ने जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिवाना

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डौको शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर (बोतलको पानी) बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएको हो ।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए। रेस्टुरेन्टले अब पनि अङ्कित मूल्यभन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने उनको भनाइ छ ।

महानिर्देशक पौडेलले चाडपर्व लक्षित विभागको सात वटा टोली बजार अनुगमनमा रहेको बताए। उनले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनका लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख गरे ।

काठमाण्डौ उपत्यकासहित देशभर पालिकामार्फत बजार अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ ।