Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

टेकु अस्पतालमा सरुवा रोगका बिरामीको चाप, शैंया अभाव

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालले शैंयाको अभाव हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् । 

अस्पतालका निर्देशक डा। बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन । 

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा। बसौलाले बताए । सय शैंयाको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैंयामा सञ्चालनमा रहेको छ ।