प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी
दुर्गा प्रसाईँ पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन् ।
भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो ।
साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सहयोग गरेका थिए । प्रसाईसहित प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन ।
प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ।