Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौं खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो । क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए । 

‘म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ’, उनले भने, ‘उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।’ म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छवटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् । 

अप्राविधिकतर्फको प्रशासन सहायक ९पाँचौँ० र खरिदार ९चौथो० तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।     तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताए । उनले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताए ।