Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

‘नेसनल डे कन्सर्ट’ मा बालेनको नारा लगाउने व्यक्ति ज्यान मुद्दाका फरार, अदालतमा बुझाइँदै

संविधान दिवसको अवसरमा हिजो बिहीबार दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थनमा नारा लगाउने ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरले बझाङ मष्ट गाउँपालिका स्थायी घर भएका तिलक खड्कालाई  पक्राउ गरिएको जनाएको छ । खड्काले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गर्दा प्रहरीले पक्राउ गरेको थियो । ‘गतिविधि अलि अस्वाभाविक देखियो, सर्वसाधारणलाई धकेल्न थालेपछि उनलाई नियन्त्रणमा लिएको थियौं । तर ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेछन्’, परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने ।

बालेनका समर्थकहरूले कन्सर्टमा आएकाहरूलाई धकेल्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो । मेयर शाहको पक्षमा समर्थकलाई उत्तेजित बनाउने र कन्सर्टमा सहभागी भएकाहरूलाई धम्क्याउन थालेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ । उनी एक वर्षअघि दरवारमार्गमै भएको एक घटनाको फरार अभियुक्त रहेको प्रहरीको भनाइ छ । प्रहरीले खोजी गरिरहेको बेला बालेनको समर्थनमा कन्सर्ट विथोल्न उनी सहभागी भएको बुझिएको छ । ‘अपराधमा संलग्न रहेको दुई वटा मुद्दा रहेछ, एउटामा आज हामी अदालत पठाउँदैछौ’, एसपी अधिकारीले भने ।

चार महिनाअघि त्रिचन्द्र कलेजभित्र भएको विवादमा उनले इँटा प्रहार गरी विद्यार्थीलाई घाइते बनाएको स्रोतले जानकारी दिएको छ । त्यसपछि खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो । ‘कार्यक्रमका क्रममा खुट्टा कुल्चिएको भन्दै झगडा भएको रहेछ, एक अधिकारीले भने । खड्का त्रिचन्द्र कलेजमा बीएस्सी पहिलो वर्षमा अध्ययनरत छन् ।