Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बिहीबारदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने, तत्कालका लागि शुल्क नलाग्ने

भूकम्पपछि पुनर्निर्माण गरिएको सुनधारास्थित धरहरा बिहीबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । मन्त्रिपरिषद्ले २७ भदौमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो । सरकारले संविधान दिवसको अवसर पारेर सो निर्णय कार्यान्वयन गर्ने भएको हो ।

तत्कालका लागि धरहरा चढ्न निःशुल्क हुने भएको छ ।  संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो । परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ ।

२०७२ को भूकम्पले भत्किएको धरहरालाई यथावत राखी पुरानोकै नजिक अर्को धरहरा बनाएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि फेरि ओली नै प्रधानमन्त्री भएको बेला सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

ओलीले त्यसबेला निर्माण पूरा नहुँदै उद्घाटन गरेको भन्दै आलोचना समेत भएको थियो । धरहरा भीमसेन थापाले निर्माण गरेका थिए । धरहरामा पटक–पटक भूकम्पले क्षति पुर्‍याएको छ ।