काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । भोलि बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ को स्टेज निर्माण लगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
‘काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१-०६-०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१-०६-०१ गते २०ः०० बजेदेखि मिति २०८१-०६-०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ । सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्दैछ । सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्दैछ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।