Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

महिलाको निम्ति महिला मंच नेपालको १५औ बार्षिक साधारण सभा सम्पन्न

महिलाको निम्ति महिला मंच १५ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोनिया तामाङ्गको अध्यक्षतामा काठमाण्डौ, बसुन्धारामा साधारण सभा सम्पन्न भएको हो  । 

राष्ट्रिय दलित आयोगकी माननीय मिना देवी सोबको प्रमुख उपस्थितिमा सम्पन्न साधारण सभामा संस्थाको कार्यक्रम,श्रमिक सवाल र वित्तिय प्रतिवेदन बारेमा चर्चा भएको थियो ।  राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा राष्ट्रलाई योगदान पुर्याएका दिबंगत सहिद र श्रमिकको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा वोफोवन सास्कृतिक समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक र परियोजना अधिकृत सरिता थापा र बर्षा लुइँटेलले सम्पूर्ण अथितिलाई व्याच वितरण गरेका थिए । संस्थाका उपाध्यक्ष  विष्णु श्रीपालीले संस्थागत मन्तव्य सहित संस्थाका सदस्य र आमन्त्रीत अतिथिहरूलाइ स्वागत गरेकी थिइन्। यसैगरी संस्थाकी कार्यसमिति सदस्य सपना भुलुनले कार्यक्रमको उद्धेश्य स्पष्ट पार्दै कार्यक्रमको पहिलो चरणमा खुल्ला सत्र अन्र्तगत नितिगत संवादमा छलफल गरीने र दोस्रो चरण बन्द सत्र रहने जानकारी दिएकी थिइन ।

८२१ जना सदस्य संख्या रहेको महिलाको निम्ति महिला मञ्च नेपालको  संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सृजना पुनले संस्था स्थापनाको पृष्ठभूमि सहित संस्थाको जानकारी एवं आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कार्यक्रमको विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रम निर्देशक पुनले महिला भएकै कारणले महिलामाथि हुने विभेद चुनौतीको रुपमा रहेका बताउँदै मनोरन्जन तथा सत्कार क्षेत्रको मुद्धा राजनैतिक मुद्धा बन्न नसक्दा सम्म पिछडिएको श्रमिक वर्गको उत्थान हुन नसक्ने स्पष्ट पारिन । उनले संस्थालाइ आगामी दिनमा अझ प्रभावकारी बनाउने र निरन्तर अभियानमुलक रही सबै सरोकारवाला निकाय संगको समन्वय सहकार्य र साझेदारीमा अग्रसर भैरहने प्रतिवद्दता ब्यक्त गरेकी थिईन् । 

आर्थिक लेखा तथा प्रशाशनिक प्रतिबेदनको प्रस्तुतिकरण संस्थाको कोषाध्यक्ष  विपना गुरुङ्गद्वारा प्रस्तुत गरिएको थियो । खुल्ला सत्रकै क्रममा सहजकर्ता रसना ढकालले नीतिगत संवादको आवश्यक्ता स्पष्ट पार्दै महिलाको निम्ति महिला मञ्चले मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिक महिलाको सामाजिक आर्थिक अवस्था र कानुन कार्यान्वयनको अवस्था विषयमा सम्पन्न सर्वेक्षण प्रतिवेदन ,प्रतिवेदनले तिन तहको सरकारलाई गरेको सिफारिस, महिला ईजलासको फैसला र सर्वोच्च अदालतमा मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिकको लागि छुट्टै नियमावली र निशुल्क स्यानेटरी प्याडको माग सहित पेश गरीएको रिटको सन्दर्भमा प्रस्तुतीकरण दिएकी थिइन् ।

New Project (6).png

उनले मनोरन्जन तथा सत्कार क्षेत्रमा श्रम ऐनको प्रभावकारी कार्यन्वयन नभएको ,श्रमिकले श्रम ऐन अनुसार तलब,विदा ,नियुक्तिपत्र,सम्झौतापत्र लगाएतको सुविधा नपाएको र समाजले यस क्षेत्रको श्रमिकलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको जानकारी दिएकी थिइन् ।

खुल्ला सत्रमा आफ्नो शुभकामना मन्तव्य राख्दै माननिय मिना देवी सोबले महिलाको निम्ति महिला मञ्च जस्तो श्रमिक सवाल र अभियानकेन्द्रित अब्बल संस्थाको साधारण सभामा प्रमुख अतिथि बन्न पाउँदा खुसी लागेको भन्दै महिलाको निम्ति महिला मञ्च नेपालको प्रशंसा गरेकी थिइन् । उनले अझैपनि मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिकले जातिय विभेद भोगिरहेको अवस्था रहेको र यस सम्बन्धि आयोगमा उजुरीहरु आएतापनि विभिन्न प्रभावमा परि श्रमिकहरु कार्वाही प्रक्रियामा विचमै मिलिदिने गरेको अवस्था रहेको बताइन् । उनले दलित आयोगमा मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकको न्यून पारिश्रमिकको केश पनि आउने गरेको जानकारी दिईन् । आगामी दिनमा महिलाको निम्ति महिला मञ्च नेपाललाई छलफलमा निमन्त्रणा गर्ने बताउँदै सरकारले गर्नपर्ने काममा संस्थाले मिहिन ढंगले अध्ययन अनुसन्धान र कार्यक्रम गरिरहेकोमा धन्यवाद दिंदै आगामी कार्य सफलताको शुभकामना दिएकी थिइन ।


कार्यक्रममा महिलाको निम्ति महिला मञ्चकी आजीवन सदस्य,दोहोरी गायिका तथा गोरखा जिल्ला धार्चे गाउँ पालिकाकि उपाध्यक्ष सुनिला गुरुङ्गले व्यवस्था बदलिए पनि महिलाको अवस्थामा अझै तात्विक परिवर्तन आउन नसकेको बताइन् । उनले महिलाहरु माथि हरेक क्षेत्रमा विभेद रहेको र महिलालाई अझैपनि नेतृत्व तहमा स्विकार गर्न नचाहने पितृसतात्मक सोच हावी रहेको बताइन् ।

उनले महिलाको संख्यामा मात्रै बहुमत नभई अब हरेक नेतृत्वदायी भुमिकामा महिला अघि बढ्ने अवस्था बनाउनको लागि घरबाटै सुरु गर्नुपर्ने अवस्था रहेको छ भनिन् । उनले घरबाटै बालबालिकाको हुकाईमै छोरालाई बन्दुक ,गाडी र छोरीलाई गुडिया र भाँडाकुटीदिने गरेर विभेदलाई प्रसय दिइरहेको बताउँदै यस्तो विभेदलाई प्रसय नदिन आग्रह गरिन् । उनले समग्र श्रमिकलाई संगठित भएर अधिकार र पहिचानको लडाँइमा लड्न प्रेरित गरिन । उनले महिलाको निम्ति महिला मञ्चको कार्यलाई देशैभर विस्तार गरी अघि बढ्न शुभकामना दिइन ।

कार्यक्रममा काठमाण्डौं महानगरपालिका वडा नं ३२ का वडा सदस्य भगवान् बुढाथोकी,ललितपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य बैकुण्ठ राउत, मानव वेचविखन तथा अनुसन्धान व्युरोका प्रहरी निरिक्षक प्रशान्त तामाङ्ग र नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीले बार्षिक साधारण सभाको शुभकामना दिंदै श्रमीकको सवालमा निरन्तर समन्वय र सहकार्य गर्न प्रतिवद्धता व्यक्त गरे । अतिथीको मन्तव्य सहित साधारण सभाको खुल्ला सत्र सम्पन्न भएको थियो ।

खुल्ला सत्रको कार्यक्रममा अथितिहरु क्रमशः राष्ट्रिय दलित आयोगकी माननीय मिना देवी सोब, प्रहरी वृत बौद्ध, जिल्ला प्रहरी परिसर , गोकर्णेश्वर नगरपालिका, काठमाण्डौं महानगरपालिका वडा नं (, काठमाण्डौं महानगरपालिका वडा नं २२, ललितपुर नगरपालिका वडा नं १५, मानव बेचबिखन अनुसन्धान ब्युरो,सामुदायिक सेवा केन्द्र गोगंबु, सामुदायिक प्रहरी सेवा केन्द्र गोगंबु,जेटियुसिसी, जिफन्ट, नेस्वहोमयु, नेपाल रेष्टुरेण्ट व्यवसायी संघ, तरंगिनी फाउन्डेसन, स्वास्वा नेपाल, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, वोरेक ,शान्ति फाउन्डेसन,आवाज , शक्ति मिलन समाज , श्रमिक महिला रक्षा संघ,चेन्ज एक्सन नेपाल , कुमुदिनी , शक्ति समुह, चेन्ज एक्सन नेपाल ,सुनिता फाउन्डेसन,रोयम नेपाल,विश्वास नेपाल लगाएत संस्थाको सहभागिता मा सम्पन्न भएको हो ।

बन्दसत्रमा संस्थाको सदस्यहरुको उपस्थितिमा अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विपना गुरुङ्गद्वारा प्रस्तुत आर्थिक वर्ष २०८० र ०८१ को आयब्ययसहितको प्रतिवेदन, लेखा परीक्षक नियुक्ति, विधान संसोधन लगायत विविध बिषयहरू उपर छलफल गरि सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको थियो । कार्यक्रमको समापन संस्थाको उपाध्यक्ष विष्णु श्रीपालीद्धारा समापन भनाईसहित भएको थियो ।

महिलाको निम्ति महिला मञ्च नेपाल मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा÷मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा काठमाण्डौं जिल्ला प्रशासनमा विधिवत रुपमा (मिति २०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । 

यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।