Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मानसिक समस्या भन्नेवित्तिकै नेपालीहरु ‘पागल भएको’ बुझ्छन्

अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको बताएका छन् ।

मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । मानसिक समस्या भन्ने बित्तिकै नेपालीहरुले पागल भनेर नै बुझ्ने गरेको भन्दै मानसिक समस्या भनेको पागल हुनुमात्र नभई शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनु जस्ता कारणहरु पनि मानसिक समस्याको विशेषता रहेको स्पष्ट पारे ।

Pradip Timilsina 1.jpg

बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिइयो भने मानसिक रोग कुनै ठुलो समस्या नभएको उनको भनाई छ । उनले भने, ‘मानसिक समस्या भनेको पागल हुनुमात्र होइन । ज्वरो आयो भन्न मिल्ने, टाउको दुख्यो भन्न मिल्ने तर मानसिक समस्या भयो भन्न नमिल्ने? शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनुले पनि मानसिक स्वास्थ्यसँग सम्बन्ध राख्ने गर्दछ । तर भन्न सकिरहेका हुदैँनौँ, हिच्किचाउँछौं र लुकाउँछौं । समस्या लुकाएपछि ठिक हुने त कुरै भएन थप समस्याहरु बढिरहन्छन् । मानसिक समस्या भनेको ठुलो समस्या होइन । बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिनुपर्दछ ।’

अफिसर तिमल्सिनाले मानसिक स्वास्थ्यका बिरामीहरुमा उदासिन हुनेदेखि अवास्तविक कुराहरु हेर्ने र सुन्ने तथा त्यसमा प्रतिक्रिया गरेर खतरापूर्ण व्यवहारहरु गर्ने जस्ता समस्याहरु देखिने गरेको बताउँछन् ।

Pradip Timilsina .jpg

आफ्नो पेसाको अनुभवबारे सुनाउँदै उनले भने, ‘मानसिक स्वास्थ्यका बिरामीहरु उदासिन हुनेदेखि अवास्तविक कुराहरु हेर्ने र सुन्ने तथा त्यसमा प्रतिक्रिया गरेर खतरापूर्ण व्यवहारहरु गर्ने गर्दछन् । त्यस्ता खालका बिरामीहरुको व्यवस्थापनको काम अष्टे«लियामा गर्दै आएको छु । जेलबाट छुटेर आएकादेखि आत्महत्या प्रयास गरेर अस्पताल भर्ना भएका बिरामीहरुको समाजमा व्यवस्थापन र घुलमिल गर्ने एवम निगरानी गर्ने मेरो मुख्य जिम्मेवारी हो ।’

नेपालमा अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नैराश्यता बढिरहेको तिमल्सिनाको गुनासो छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दैछ जाँदा विदेशमा राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको अवस्था रहेको उनी बताउँछन् ।

नर्सिङ पढ्नकै लागि १० देखि १५ लाख खर्च गरेर पनि १०/१२ हजारमा काम गर्नुपर्ने वाध्यताका कारणले गर्दा नै देशमा नर्स पेसाप्रतिको आकर्षण घट्दै गइरहेको भन्ने उनको ठम्याइ छ ।

Pradip Timilsina 2.jpg

‘अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दैछ जाँदा विदेशमा राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । नर्सिङ पढ्नकै लागि १० देखि १५ लाख खर्च गरेर पनि १०/१२ हजारमा काम गर्नुपर्ने बाध्यताका कारण देशमा नर्सपेसाप्रतिको आकर्षण घट्दै गइरहेको छ,’ उनले भने ।

सामान्यतया नेपालीहरुले मानसिक स्वास्थ्यबारे खुलेर भन्न डराउने गरेको, मानसिक रोगीलाई समाजले हेर्ने दृष्णिकोण, आफन्त र साथीभाइले गर्ने व्यवहारको कारण पनि समस्या हुने गरेको उनको बुझाइ छ ।

खुलेर समस्या नभन्दै पनि कुनैपनि मान्छेले दैनिक जीवनमा गर्ने सामान्य कामहरु गर्र्दैन भने त्यो मानसिक स्वास्थ्यको असरका रुपमा बुझ्न सकिने अफिसर तिमल्सिनाले जानकारी गराए ।

Pradip Timilsina 3 (1).jpg

उनले भने, ‘मानसिक स्वास्थ्यका बारेमा नेपालमा त्यति खुलेर भन्दैनौं । मान्छेको स्वाभाव नै खुशी हुँदाखेरि हाँस्ने र दुःखी हुँदा रुने गर्छन । तर सधैं हाँसीराख्यो भने पनि त्यसमा केही समस्या छ भनेर बुझ्नुपर्यो । कुनैपनि मान्छेले दैनिक जीवनमा गर्ने सामान्य कामहरु गर्र्दैन भने त्यो मानसिक स्वास्थ्यको असरको रुपमा बुझ्नुपर्दछ ।’

प्रायजसो अष्ट्रेलियामा रहेका नेपालीहरुमा कामको समस्या, त्यहाँ गएका अधिकांश नेपालीहरुको मनमा जसरी पनि आफूले घरमा पैसा पठाउनुपर्ने दबाब हुने कारणले गर्दा पनि मानसिक रोगको शिकार बन्न पुग्ने गरेको उनी बताउँछन् । तनावलाई कम गर्न लागूऔषध सेवन गर्ने गरेकाले त्यसले नकरात्मक दुष्परिणामहरु निम्त्याइरहेको उनको भनाइ छ ।

Pradip Timilsina 4.jpg

‘अष्ट्रेलियाका नागरिक जस्तो नेपाली नागरिकले मेन्टल हेल्थबारे कुराहरु खुलाउन चाँहदैनन् । नेपालीहरुलाई कामको समस्या छ, सजिलैसँग काम पाउँदैन । त्यहाँ गएका अधिकांश नेपालीहरुको मनमा जसरी पनि आफूले घरमा पैसा पठाउनुपर्ने दबाब रहेको हुन्छ,’ उनले भने, ‘त्यस्तो तनावलाई कम गर्नका लागि मदिरा तथा लागूऔषध सेवन गर्ने समेत गरेको पाइन्छ । त्यसले नकरात्मक दुष्परिणामहरु निम्त्याइरहेको हुन्छ । मानिस स्वास्थ्यसँग सम्बन्धित परामर्श कहाँ लिने भन्ने जानकारी नहुँदा समेत अष्ट्रेलियामा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।’

अष्ट्रेलियामा आफूले गरिरहेको कामका बारेमा सुनाउँदै तिमल्सिना भन्छन्, ‘म अनुभवी नर्स भएको कारणले मैले व्यवस्थापन गर्ने भनेका धेरै गम्भीर खालका मान्छे हुन् । मानसिक रोगी भएर औषधी सेवन गरेका बिरामीले एक्कासी औषधी खान छाडेपछि समाजमा हानी हुनसक्ने काम गर्ने भएकाले उनीहरुका लागि सहायता गर्ने हो । निगरानी र व्यवस्थापन गर्नुपर्छ ।’