Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज विश्वकर्मा पूजा, धुमधामका साथ मनाइँदै

प्रत्येक वर्ष झैँ आज आश्विन सङ्क्रान्तिका दिन अर्थात आज असोज १ गते मंगलवार वास्तु दिवस एवं विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ । आजकै दिन कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने चलन रहँदै आएको छ ।

आज विभिन्न कल–कारखानाहरुमा विश्वकर्माको मूर्ति अथवा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कल–कारखानालाई विशेष रुपमा सजाएर विश्वकर्माको मूर्ति भोलि बुधवार नजिकैको नदीमा लगेर सेलाइन्छ ।

आजको दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानिँदै आएको छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्त प्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ ।