Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मादी नदीले बगाएका किशोर एक साता बित्दा पनि भेटिएनन्

तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् ।

उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ । घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।  

सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

घटना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उनले बताए । ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताए । 
 

वृद्व पाँच दिनदेखि बेखबर 
त्यसैगरी तनहुँको सदरमुकाम दमौली निवासी गोपाल लौडारी पाँच दिनदेखि बेखबर छन् । सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका  छन् । व्यास–२ ट्राफिक चोक नजिक निवासी ७४ बर्षीय लौडारी बुधबार बिहान ७ बजेको समयमा मर्निङवाकमा निस्किएका थिए ।

त्यसपछि  घर नफर्किएको परिवारले जनाएका छन् । आफन्त, इष्टमित्र नातागोतालगायतका स्थानमा खोजी गरे पनि भेटाउन नसकेपछि परिवारजन निराश भएका छन् । खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइए पनि कुनै पत्ता लाग्न नसकेको स्थानीय भरत पोख्रेलले जानकारी दिए ।