अस्पतालको सेवामा सन्तुष्ट हुने अवस्था छैनः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वीर अस्पतालका बारेमा आइरहेको नकारात्मक गुनासा र टिप्पणीहरु समाधान गर्ने गरी काम गर्न कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । आज शुक्रबार जलन उपचार केन्द्रको उद्घाटन गर्दै मन्त्री पौडेलले सेवाग्राही सन्तुष्ट हुने गरी अस्पताल प्रशासनले काम गर्नुपर्ने बताए ।
‘वीर अस्पतालमा केहि नभएको होइन, तर यसको महसुस आम नागरिक र मिडियाले गर्न सक्नुपर्छ । तर वीरमा के भइरहेको हो मैले बुझ्न सकेको छैन,’ उनले भने, ‘सेवाग्राहीले पनि वीरमा राम्रो उपचार सुविधा पाउने अवस्था भएको छ भनेर सन्तुष्ट हुने अवस्था छैन, बाहिर पनि वीरका बारेमा राम्रो सन्देश छैन । वीर अस्पताल साधन स्रोतविहीन अवस्थामा पनि छैन, जनशक्ति पनि सेवा दिन नसक्ने अपुग अवस्थामा पनि छैन, तर यसको सन्देश सकारात्मक ढंगबाट भइरहेको छैन ।’
उनले अस्पतालका काम पारदर्शी ढंगबाट हुनुपर्ने बताउँदै अब टिकट तथा पेमेन्टलाई अनलाइन प्रणालीमा लैजान निर्देशन दिए । सेवाग्राहीलाई यसले सहजता हुने उनको ठम्याई छ । कम्तीमा २० प्रतिशत सेवाग्राहीलाई अनलाईनबाट सेवा दिन सके भीड पनि कम हुने उनले बताए ।
‘यहाँको जनशक्तिले सबै विरामीलाई सहज सेवा दिन सक्ने अवस्था छैन, तर बाहिर कस्तो सन्देश आउँछ भन्दा अपरेशनको पालो ९ महिनापछि आउँछ, ७ महिनापछि आउँछ । यहीँ भइरहेको साधन स्रोतभित्र छिटो कसरी अपरेशन गराउन सकिन्छ त्यसलाई व्यवस्थापन गरौं । बेड र उपचार अवस्थाबारे पारदर्शी बनाऔं,’ उनले भने, ‘आइसियुको बेड थप्न पनि तत्काल प्रक्रिया अघि बढाऔं, काउन्टरलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यता पनि ध्यान दिनुपर्छ ।’
मन्त्री पौडेलले १७-१८ करोड विमाको रकम भुक्तानी हुन बाँकी रहेको बताउँदै १५ दिनभित्र ५० प्रतिशत भुक्तानी हुने जानकारी गराए । बाँकी ५० प्रतिशतको क्लेमबारे थप रुजु गर्नुपर्ने र कतिपय फेक क्लेम पनि आइरहेको बताउँदै यसलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो ।
२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियू र तीन वटा अप्रेशन थिएटर छन् ।
नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । ‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं,’ डा. पौडेलले भने, ‘ जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी सेवा दिन्छौं ।’
नेपाल जस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।