Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

डेङ्गी संक्रमण बढ्दा पर्वत अस्पतालमा शैंया अभाव

डेङ्गी संक्रमितको संख्या बढेसँगै जिल्ला अस्पतालमा शैंया अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ ।  अस्पताल संक्रमितले भरिभराउ छ । ६० शैंयाको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शैंया खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको संख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

नौवटा एम्बुलेन्स थन्किए 

यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मत सम्भार नहुँदा थन्किएका हुन् ।