Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

धरहरा संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालन हुने

सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । हिजो बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस ९असोज० को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए । त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ ।

उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ । यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ । लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्कनुअघि धरहरा काठमाडौं महानगरले सञ्चालन गर्दै आएको थियो । महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो ।