Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुःखी आत्मा’ को सुटिङ सुरु

दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुःखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।
सुटिङ सुरुसँगै ‘दुःखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्वीर बाहिरिएको छ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।

पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताए । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो ।

क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिए ।