Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चिनियाँ कल सेन्टरमा सीआइबीको छापा: पाँच महिलासहित ५० जना पक्राउ

ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको थियो ।

सो क्रममा दुई चिनियाँ र एक फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेकामध्ये पाँच जना महिला छन् । प्रवक्ता बोगटीका अनुसार उनीहरूले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रवक्ता बोगटीले बताए ।

‘अहिले दुई चिनियाँ, एक फिलिपिनो र ४७ जना नेपालीसहित ५० जनालाई हामीले नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा पुर्‍याउँदैछौँ,’ उनले थपे, ‘कल सेन्टरबाट मानिसहरूलाई लोभलालचमा पारी अवैध कारोबार गर्ने र ठगी गर्ने, क्रिप्टो करेन्सीमा लगानी गराउने जस्ता अवैध कारोबार भइरहेको बुझिएको छ । थप अनुसन्धानपछि खुल्छ ।’