Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

६ बर्षपछि हुन लागेको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले २८ भदौ हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो । 

अदालतको आदेशसँगै निर्वाचनका सबै प्रक्रिया रद्द भएका छन् । बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत बीएससी बायोलोजी समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत रञ्जित विकसहितका विद्यार्थीले उच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

स्ववियु निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम छुटाएको भन्दै उनीहरू उच्च अदालत पुगेका थिए । रिटउपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्चको अन्तरिम आदेशमा दुवै पक्षलाई असोज ६ गते छलफलमा झिकाउन भनिएको छ ।