अर्जुन राई । १५९औँ मोती जयन्तीको अवसर पारेर आज गान्तोकमा सिक्किम गजल मञ्च (सिगम)-को छैटौँ स्थापना दिवस पालन गरियो। सन् २०१९ मा मोती जयन्तीकै अवसर पारेर स्थापित सिगमले प्रत्येक वर्ष मोती जयन्ती अथवा यसको अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको छ।

सिगमको छैटौँ स्थापना दिवसको अवसमा गजलकार जीविका अश्रु र साहित्यकार अर्जुन चामलिङ ‘यावा’-को संयुक्त सम्पादन एवं व्यवस्थापनमा तयार गरिएको ‘सिक्किमेली नेपाली गजल’ लोकार्पण गरियो। सिक्किमबाट सम्भवतः पहिलोपटक प्रकाशित सामुहिक गजल सङ्ग्रह ‘सिक्किमेली नेपाली गजल’ वरिष्ठ साहित्यकार चुनिलाल घिमिरेले प्रकाशित गरेका हुन्।
अवकाश प्राप्त शिक्षिका एवं साहित्यकार मुना बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवं पत्रकार अर्जुन पीयूष मुख्य अतिथि रहेका थिए भने नेपाली साहित्य परिषदका संस्थापक अध्यक्ष राज के। श्रेष्ठ, वरिष्ठ साहित्यकार विजयकुमार सुब्बा र सिर्जनात्मक वैचारिक मञ्च, रुम्तेकका अध्यक्ष शिवप्रसाद न्यौपाने विशिष्ठ अतिथि रहेका थिए।

लोकार्पित पुस्तककी सम्पादक एवं सिगमकी संस्थापक अध्यक्ष जीविका अश्रुको स्वागत सम्बोधनबाट शुरु गरिएको कार्यक्रममा विष्णु केसी, पवन बाहुन, सागर निरौला, आनन्द छेत्री, मोहन गौतम, प्रेम न्यौपाने ‘प्रहर’, जीग्मी डी. भोटिया, भोला विद्रोही, शिवप्रसादन न्यौपाने, ललित लोहार, किरण मुखिया, जीविका अश्रु र राधा पाण्डेले गजल वाचन गरेका थिए भने कुबिर विष्ट र इन्द्रकला शर्माले कविता वाचन गरे।
सभाध्यक्ष मुना बरालले आफ्नो सम्बोधनमा गजल कविताकै एक एक उपविधा रहेको बताउँदै यो अरबबाट शुरु भएको बताइन्। अबरमा इस्लाम धर्म शुरु हुनुअघि नै गजलको शुरुवात भएको पनि उनले बताइन्। सिक्किम गजल मञ्चको यो कार्यक्रमबारे बोल्दै “यो कार्यक्रम एकदमै सङ्लो छ। भविष्यमा पनि यसप्रकारका कार्यक्रमहरूको आयोजना हुनेछ भन्ने आशा गरेका छौँ” भनिन्।

यसरी नै मुख्य अतिथि अर्जुन पीयूषले कुनै पनि कार्यक्रम सफल-असफल भएको मान्नलाई त्यहाँ रहेको उपस्थितिलाई मापदण्ड मान्न नसकिने विचार व्यक्त गरेका थिए। उनले “ठूलठूला भीड़हरूले मात्रै कार्यक्रम सफल हुन्छ भन्ने होइन, कम सङ्ख्या भए पनि कार्यक्रम सफल हुनसक्छ” भन्दै “सिक्किम गजल मञ्चद्वारा आयोजित आजको कार्यक्रममा कम उपस्थिति रहेपनि यहाँ बौद्धिक जमातको उपस्थिति रहेको हुनाले यसलाई सफल मान्नुपर्छ” पनि भने। उनले सिक्किम गजल मञ्चको स्थापनाकालमा गजल आफ्नो विधा नभए पनि आफूले सकेको सहयोग पुर्याएको सम्झना पनि गरेका थिए।
यसरी नै विशिष्ठ अतिथि विजयकुमार सुब्बाले आफ्नो सम्बोधनमा लेखक-साहित्यकारहरू कतिले लेख्दैछन् भन्ने होइन के लेख्दैछन् भन्ने कुरा महत्वपूर्ण हुने बताए। हामीले लेख्दा समाजलाई उचाल्नसक्ने कुरा दिनसक्नुपर्ने पनि सुब्बाले बताए। आफ्नो सम्बोधनमा उनले भने, “सिक्किमेली नेपाली गजल हिजको शृङ्गारिक गजलहरू अब सिक्किममा मेटिएर समयसापेक्ष, यहाँको परिस्थिति, परिवेश र आवश्यक्ताअनुसारका गजलहरू लेखिन थालिएछ, साह्रै खुशी लाग्यो।” यसका साथै उनले ‘सिक्किमेली नेपाली गजल’ सिक्किमको गजल साहित्यमा एउटा माइलखुट्टी बनेको पनि बताए।

गजलकार राधा पाण्डेद्वारा सञ्चालित कार्यक्रममा सभाध्यक्ष, मुख्य अतिथि एवं विशिष्ठ अतितिगणको संयुक्त बाहुलीद्वारा ‘सिक्किमेली नेपाली गजल’ लोकार्पण गरिएको थियो। लोकार्पित पुस्तकमाथि सम्पादकको पक्षबाट बोल्दै अर्जुन चामलिङ ‘यावा’ले सिक्किमभरि ३९ जना जगलकारहरू रहेका थाहा लागेपनि केवल ३१ जनाका दुई-दुईवटा गजल समेट्न सकिएको बताए। उनले सिक्किमबाट अहिलेसम्म प्राप्त छःजना गजलकारबाट ११ वटा मात्रै कृति प्रकाशित रहेको बताउँदै यस क्षेत्रमा अझ धेरै काम हुन बाँकी नै रहेको पनि बताए।