Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

तीन दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू सहभागि हुने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए।

कार्यक्रममा म्यानमारलगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी विभिन्न प्रस्तुति दिने छन् । विभिन्न देशका विज्ञहरूको सहभागिता रहने कार्यक्रममा पच्चिस भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुनेछन् । 

कार्यक्रममा केही देशका विज्ञहरू पनि अनलाइनमार्फत् जोडिने छन् भने सेमिनारको अन्त्यमा काठमाडौं घोषणापत्र जारि हुनेछ । स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरू बीचको नियमित संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसहरूको साझा हित रक्षार्थ तीन दिने कार्यक्रम कोषेढुङ्गा हुने अपेक्षा गरिएको संयोजक लम्मालले बताए।

कार्यक्रमको उद्घाटन सत्र प्रकृति संरक्षण कोषको सभागृह, खुमलटार, ललितपुरमा भाद्र २८ गते हुनेछ भने भाद« २९ र ३० गते प्राविधिक सत्रहरू सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष डा. प्रेमराज न्यौपानेले जानकारी दिए । सेमिनार नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), राष्ट्रिय प्रकृति संरक्षण कोष, एशियाली अनुसन्धान केन्द्र– त्रिभुवन विश्वविद्यालय, भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद, भारतीय प्रबन्ध संस्थान शिलोंग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको संयुक्त आयोजनामा हुनेछ ।