Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार साउदले ईटली पठाउने भन्दै आठ जनाबाट नौँ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी एक करोड ६५ लाख रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

साउदलाई काठमाडौं महानगरपालिका–२८ बागबजार तथा रणबहादुर घर्तीलाई काठमाडौं महानगरपालिका–१६ वनस्थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।