Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेकपा एसमा जान लागेको टिप्पणीबारे के भन्छन् भीम रावल?

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

अछामको साँफेबगरमा आज प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका हुन् । देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढता पूर्वक खडा भएको केही मानिसहरूलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

नेकपा एमालेको चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित रावल हाल पार्टीमा भूमिकाविहीन छन् । पार्टीमा रावललाई उचित स्थान दिनु पर्ने माग उठ्दै आए पनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ । डा. रावलले आफू नेकपा एकीकृत समाजवादीमा नजाने दाबी गरे ।

रावलले आफू एकीकृत समाजवादीमा जाने सोचमा नरहेको बताएका हुन् । ‘नेताहरूसँग कुराकानी हुनु स्वाभाविक हुन्छ । तर मैले कुनै पार्टी, नेकपा एकीकृत समाजवादीमा जाने उद्देश्य पनि छैन । उहाँहरूले भीम रावल ल्याउँछु भनेको कुरा उहाँहरूको होला,’ रावलले भने, ‘त्यसमा मेरो केही कुरा छैन ।’