Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

गोरखामा गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्य चौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिए । 

‘सुत्केरी भएका तथा गर्भवती भएर १८ महिना पूरा नभएका वडाभित्रका सबैलाई विभिन्न १२ प्रकारका तरकारीका बीउ वितरण गरेका छौँ, हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले घरमै आफैले उत्पादन गरेको पोषणयुक्त तरकारी प्रयोग गर्न सकियोस् भनेर पनि बीउ वितरण गरिएको हो’, उनले भने ।

स्वास्थ्य चौकीले उनीहरूलाई हरियो सागसब्जी पालुङ्गोलगायत अन्य सागको बीउ, मुला, काउली, बन्दा, गाँजर, धनियाँ, डल्ले खुर्सानीलगायत तरकारीका बीउ उपलब्ध गराएको उनले बताए । धावामा ६४ गर्भवती तथा सुत्केरीलाई षोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो । तीमध्ये ११ गर्भवती र ५३ सुत्केरी आमा छन् ।

‘हरियो सागपात र गाँजरले सुत्केरी, शिशु तथा गर्भवतीलाई भिटामिन ‘ए’ को कमी हुन दिँदैन, त्यसबाहेक वितरण गरिएका अन्य तरकारीका बीउ पनि उत्तिकै लाभदायक छन्, स्वास्थ्य चौकी प्रमुख लामिछानेले भने, ‘आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकामार्फत नै कार्यक्रम बनाएर तरकारीको बीउ वितरण गरिएको हो ।’ विषादी प्रयोग गरिएका तरकारीको खाँदा आमा र शिशु दुवैलाई बढी असर गर्ने भएकाले गाउँमा आफैले उत्पादन गर्नसके विषादीको जोखिम नहुने उनको भनाइ छ ।

हरियो तरकारी सागसब्जी र पहेँला फलफूलका साथै मौसमअनुसारको तरकारी उपभोग गर्दा आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन सकिने भएकाले पनि मौसमअनुसारको तरकारीको बीउ वितरण गरिएको उनले बताए ।तरकारीको बीउ लगाएको वा नलगाएको स्वास्थ्य चौकीले आवश्यक अनुगमन गर्ने योजना बनाएको उनी बताउँछन् । ‘वितरण गरिएका तरकारीको राम्रोसँग खेती गरेर उत्पादन गरे कुनै पनि गर्भवती तथा सुत्केरीलाई हिउँदमा तरकारीको अभाव हुँदैन’, उनले भने ।