Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

महिलाको निम्ति महिला मञ्चको सामाजिक परीक्षण सम्पन्न

मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा सञ्चालित संस्था महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON) ले आर्थिक वर्ष २०८०/८१ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला समन्वय समितिको सभा हल, बबरमहलमा भएको कार्यक्रमको सहजीकरण महिला एकता समाजकी भगवती अधिकारीले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता महिलाको निम्ति महिला मञ्चकी अध्यक्ष सोनिया तामाङ्गले गरेकी थिइन् भने  स्वागत तथा मन्तव्य सहित कार्यक्रमको उद्धेश्य माथि संस्थाकी कोषाध्यक्ष विपना गुरुङ्गले प्रकाश पारेकी थिइन् । 

eee.jpg

नेपालमा सर्वप्रथम स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ मा सामाजिक परीक्षणलाई सामाजिक जिम्मेवारीको लेखाजोखा भनेर परिभाषित गरिएको थियो । यसलाई पछि आएर स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधि– २०६७ अनुसार विभिन्न गैह्र सरकारी संस्थाको समाजसँग स्वच्छता प्रमाणित गर्ने आधार तय गरेको देखिन्छ । हाल आएर समाज कल्याण परिषद् तथा स्थानीय तहका विभिन्न नीतिहरूले संघसंस्थाहरूलाई सामाजिक परीक्षण गर्न अनिवार्य गरिएको छ । तद्अनुसार महिलाको निम्ति महिला मञ्च नेपालले पनि आर्थिक वर्ष २०८०/८१  मा  सम्पन्न भएका विभिन्न गतिबिधि तथा कार्यक्रमहरु, संस्थाले प्रवाह गर्ने सेवाको गुणस्तर विधी, प्रकृया र कार्यन्वयनको लागि अवलम्बवन गरिएका तौरतरिकाका सम्बन्धमा स्थानीय निकाय, सेवा प्रदायक, लक्षित समुह र सरोकारवालाहरु विच सामाजिक परीक्षण आयोजना गरिएको हो । 

कार्यक्रममा सहजकर्ताले संस्थाको आर्थिक वर्ष २०८० /८१ को कार्य प्रगति, आर्थिक प्रतिवेदन सहित ,चुनौती र सिकाईहरु साझा गरेकी थिईन् । साथै संस्थाले समन्वय र सहकार्यलाई निरन्तरता दिंदै गत वर्ष सामाजिक परीक्षणको क्रममा सहभागिबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिरहेकोमा प्रशंसा गरिन् ।

खुल्ला छलफलको क्रममा काठमाण्डौं प्रहरी परिसरको प्रहरी निरिक्षक डि.वि. खड्काले यो क्षेत्रमा आगामी वर्षमा समन्वय र सहकार्यको साथ हातेमालो गर्दै काम गर्न प्रतिवद्धता जनाए । यसैगरी, सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम कुमार नेपालले संस्थाको कार्यप्रगतिको प्रशंसा गर्दै आगामी दिनमा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धित अभिमुखिकरण संस्थाको समन्वयमा आयोजना गर्न प्रतिवद्धता गरे । 

कार्यक्रममा जिफन्टका महासचिव कमल घिमीरे, काठमाण्डौं महानगरपालिका वडा नं ७ का विमल कुमार होडा, एटविनकी कार्यकारी निर्देशक बेनु माया गुरुङ्ग, स्वास्वाकी कार्यकारी निर्र्देशक शान्ती तिवारी, शान्ती फाउन्डेसनकी कार्यकारी निर्देशक शान्ती तामाङ्ग, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल सचिवालय प्रमुख रेणुका सुर्या, वोरेक नेपालकी कार्यक्रम संयोजक प्रभा पौडेलले कार्यक्रममा रचनात्मक सुझाव दिंदै आगामी वर्षको लागि शुभकामना दिएका थिए । कार्यक्रममा श्रमिकका तर्फबाट उर्मिला शाही, शाान्ती घर्तिमगर, यमुना के.सी,रितु बगाले, सिता गौतम र सिता चन्दले  मनोरन्जन तथा सत्कार क्षेत्र भित्रको चुनौतीका साथै संस्थामा आवद्धता पछिको परिवर्तनको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा आएका सवाल र सुझावहरुलाई संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सिर्जना पुनले सम्बोधन गरेकी थिइन् भने कार्यक्रममा सहभागिलाई सल्लाह, सुझाव र सक्रिय सहभागिताको लागि धन्यवाद दिंदै कार्यक्रमको समापन संस्थाकी अध्यक्ष सोनिया तामाङ्गले गरेकी थिइन् ।

New Project (2).png

कार्यक्रममा सामाजिक सुरक्षा कोष, जिल्ला प्रह्री परिसर काठमाण्डौं,एटविन, काठमाण्डौं महानगरपालिका वडा नं २६, जिफन्ट, लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल, टोखा नगरपालिका कार्यलय, नेपाल महिला एकता समाज, वोरेक नेपाल, विश्वास नेपाल, सुभ अवसर ग्राम नेपाल, स्वास्वा, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल,त्रिशुली प्लस,शान्ती फाउन्डेसन, सुनिता फाउन्डेसन लगाएत संघसंस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाको निम्ति महिला मञ्च नेपालबाट विभिन्न सेवा सुविधा प्राप्त गरेका श्रमिक महिलाहरुको समेत सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम संचालन महिलाको निम्ति महिला मञ्चकी वर्षा लुईटेलले गरेकी थिइन् ।

महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON) मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा/मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा काठमाण्डौं जिल्ला प्रशासनमा विधिवत रुपमा (मिति २०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।