Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डीभी मार्फत् अमेरिका जान खोज्ने चार जना पक्राउ

प्रहरीले ईडीभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ की ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी स्थायी घर भएर ललितपुरको टीकाथली बस्दै आएका २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा घर भएर हाल ललितपुरकै इमाडोल बस्दै आएका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभाको खाँदबारी–९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४३ वर्षीय सुवास ढकाल छन् ।

प्रहरीका अनुसार उनीहरूलाई अमेरिकाको डीभी परेको थियो । तर, उनीहरूसँग भिसा प्रक्रियाका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता थिएन । भिसा प्रयोजनका लागि एसएलसी र कक्षा ११ र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नेपालस्थित  दूतावास नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।