पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइरहेको अवस्थामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सलकपुरका २६ वर्षीय उद्वव ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
ढकाल काबेली ‘ए’ जल विद्युत आयोजनामा कार्यरत थिए । उनलाई बुधबार हिलिहाङ–१ हाङदे भन्ने स्थानमा बिहान साढे नौ बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो । ढुंगाले लागेर सख्त घाइते ढकाललाई उपचारका लागि पाँचथर अस्पताल ल्याइ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
डीएसपी भण्डारीका अनुसार मोटरसाइकलको पछाडि सवार काठमाडौंको मनोहरा नगरपालिका–९ घर भएका तुलसीबहादुर खड्का पनि घाइते भएका थिए । ढकालको शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा दिने प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।