Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई, जोडियो नयाँ ‘ट्रान्सफर्मर’

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ ।  

राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युतको अभावले विभिन्न समस्या झेल्नु परेको बताउँदै आइरहेको थियो ।प्राधिकरणले कारखानामा देखिएको विद्युतको समस्या अन्त्य गर्नका लागि  बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो । 

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युतको अभाव नहुने बताए । ‘विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौं’, उनले भने, ‘अब कारखानाका लागि आवश्यक पर्ने विद्युत अभाव हुने छैन’, केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताए ।

 केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो । केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ ।