त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको आयोजनामा 'नेपाली भाषाका प्रथम पत्रकार मोतीराम भट्टको योगदानबारे गोष्ठी सम्पन्न भएको छ । वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका मोतीराम भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमै निधन भएको थियो। १५९औं मोती जयन्तीको अवसरमा गरिएको सो कार्यक्रममा सहभागि वक्ताहरुले मोतीराम भट्टको जीवन र पत्रकारितासँगै विभिन्न क्षेत्रमा उनले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमको सभापति त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्याल, प्रमुख अतिथि वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य रहेको कार्यक्रममा अतिथिहरू त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डीन प्रा. डा. गोविन्द सुकुम शर्मा, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद न्यौपाने, वरिष्ठ पत्रकार तथा लेखक विजय चालिसे तथा रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाली तथा नेपाल भाषा विभागका प्रमुख डा. विदुला घिमिरेले लगायत प्राध्यापकहरु, पत्रकार तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
१५९औं मोती जयन्तीको अवसर पारी आयोजित सो कार्यक्रममा सहजकर्ताको भूमिकासमेत निर्वाह गरेका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. घमराज लुइटेलले मोतीराम भट्टको जीवनी र पत्रकारिता क्षेत्रमा उनको भूमिकाबारे सविस्तार चर्चा गर्दै कार्यक्रमको विषय उठान गरेका थिए । डा. लुइटेलले भट्टलाई तथ्यहरुले पनि प्रष्ट देखाएकाले नेपाली भाषाको पहिलो पत्रकार भन्न कसैले पनि संकोच मान्न नहुने जिकिर गरे। नेपाली पत्रकारिताको इतिहासमा लेखनमा मोतीरामबारे देखिएको अलमल र केही त्रुटीहरु पनि औल्याउँदै सो कुरा सच्याउनुपर्नेमा उनले जोड दिए।

यसैगरी पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. देवराज अर्यालले कार्यक्रम आयोजनाको उद्येश्यबारे बोल्दै मोतीराम भट्टको साहित्यिक पाटोको चर्चा भएपनि पत्रकारिता उनले क्षेत्रमा पुर्याएको योगदानबारे भने कम चर्चा हुने गरेको बताए । भट्टले साहित्य सँगै नेपालमा पत्रकारिताको जग बसाउने र नेपाली भाषाको पहिलो पत्रकार भएकाले पत्रकारिताबारे अध्ययन अनुसन्धान हुने क्षेत्र र पत्रकारिताका विद्यार्थीले उनको योगदानबारे भन्दै खोज अनुसन्धान गर्दै चर्चा गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. कृष्ण प्रसाद न्यौपानेले ३० बर्षको कलिलो उमेरमै मोतीरामले गरेको बहुआयामिक तथा परिपक्क कामहरूले नै उनको क्षमताबारे प्रष्टाउने बताए। आगामी दिनमा पत्रकारिता तथा आमसञ्चार विभागले पत्रकारिता र नेपाली भाषा-साहित्यको विकास र सुधारका लागि पनि काम गर्नुपर्ने, संभव भए रेडियो र टेलिभिजन पनि सञ्चालन गर्नुपर्ने र त्यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। मोतीराम भट्टले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस किसिमको कार्यक्रम संभवत: पहिलो पटक आयोजना गरिएको भन्दै उनले विभागलाई धन्यवाद समेत व्यकत गरेका थिए ।
रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाली तथा नेपाल भाषा विभागका प्रमुख डा. विदुला घिमिरेले मोतीराम भट्ट नेपाली भाषाका प्रथम पत्रकार, जीवनीकार र साहित्यका समालोचक र नाटककार पनि रहेको बताउँदै उनका कामबारे प्रष्ट पारेकी थिइन् । भट्टले नेपाली साहित्य क्षेत्रमा र भानुभक्तको जीवनी र तस्बिरको खोज गरि भानुभक्तलाई चिनाउने कामले खोज, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा पनि योगदान पुगेको बताइन् । भट्टले गरेका कामको चर्चा गर्दै नेपाली नाटकमा वाह्यभाषाका नाटक र अनुवाद मात्रै भएको बेला नेपाली भाषामा नाटक मञ्चन गराएर नाट्य क्षेत्रको विकासमा पुर्याएको योगदानको समेत चर्चा गरिन्। विभिन्न पाटोबाट हेर्दा मोतीराम भट्ट बहुआयामिक व्यक्तित्व भएको र उनी आलोचनात्मक चेत भएका समालोचक भएको घिमिरेले बताइन्।
त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डीन प्रा. डा. गोविन्द सुकुम शर्मा मोतीबारे अध्ययन अनुसन्धान निकै कम भएको तर नेपाली समाजमा उनो योगदान साहित्य जस्तै अन्य क्षेत्रमा पनि भएको दावी गरे । को व्यक्ति कति बाँच्योभन्दा पनि कसरी बाँच्यो के गरेर बाँच्यो भन्ने कुरा महत्वपूर्ण हुने बताउँदै केही गर्छु भन्ने हुटहुटी भएका मोतीराम भट्टले नेपाली समाजलाई प्रगतिशील तर्फ डोर्याएको दावी गरे ।
उनले मोतीका बिभिन्न योगदानबारे चर्चा गर्दै साहित्य सिर्जनाको क्षेत्र, खोज अनुसन्धानको क्षेत्र, मोती मण्डली अर्थात् भट्टको सामुहिकताको चेतना, पत्रकारिता, प्रकाशन तथा सम्पादन, नेपालमा गजलको शुरूवात, नेपाली साहित्यलाई मुद्रण युगमा लैजानु लगायतका गुणले उनको छोटो उमेरको जीवन जीवनयात्रा, व्यक्तिव र कृतित्व निकै सफल र नेपाली समाजलाई पुर्याएको योगदनाले अविस्मरणीय बनाएको बताए ।
कार्यक्रममा बोल्दै उनले भट्टको अर्को क्षेत्र खोज-अनुसन्धान भएको र आज संसारभर प्रमुख समस्याका रुपमा रहेको बौद्धिक चोरीमा मोतीरामले प्रतिभाको कदर गर्ने र सबैको सम्मान गरेको उदाहरण पनि भएको बताए । १९४८ को समयमा मोतीका रचनाबाट उनको स्वतन्त्रताबारेको चेत पनि थाहा पाउन सकिने र पत्रकारिता प्रकाशन, व्यवस्थापन, प्रेस तथा छापाखानाको विकास गरि पुस्तकलाई आकार दिएर मुद्रणमा र विज्ञापनको भाषामा समेत योगदान पुर्याएकोबारे चर्चा गरे ।

वरिष्ठ साहित्यकार पत्रकार तथा लेखक विजय चालिसेले भानुभक्तलाई स्थापित गर्ने मोतीराम भट्ट बहुप्रतिभाशाली युग पुरूष भएको प्रष्टाए । मोतीराम भट्टले नेपाली भाषीह्यरुलाई भाषिक सुत्रमा बाँध्ने काम गर्दै साहित्यका विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । अनुवाद र धार्मिक ग्रन्थबाट प्रभावित साहित्यमात्रै भएको बेला भट्टले मौलिकता समेत प्रदान गरेको र थुप्रै क्षेत्रमा पहिलो भइ अग्रपंक्तिमा रहेको बताए । मोतीराम नेपाली भाषा पत्रकारिताको जनक भएको तर हामीले पत्रकारिताबारे अनुसन्धान खोज गर्न नसकेको र उनको योगदानको चर्चा पनि कम भएको उनले बताए ।
विभिन्न सात विशेषता बताउँदै उनले कार्यक्रममा मोतीराम भट्टबारे कार्यक्रममा चर्चा गरेका थिए । जीवनी, समालोचना र शोध अनुसन्धानको सुरूवात गरेको, पुस्तकलाई मुद्रण रूप दिएको, शृंगार साहित्यको शुरुवात गरेको, नेपाली साहित्यक संगठन बनाएको, नेपाली साहित्यमा मौलिक नाटक र मञ्चन गरेको, व्यवसायिक छापाख तथा प्रेसको व्यवस्था गरेको, साहित्यक पत्रकारिता शुरुवात तथा सम्पादन गरेको, पहिलो पुस्तकालय निर्माण र नेपाली भाषाको शैली निर्माण मोतीराम भट्टका बिशेषता भएको भन्दै यसबारे चर्चा गरेका थिए ।
कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विभागलाई मोतीराम भट्टको पेन्टिङ तस्बिर उपहार प्रदान गर्ने घोषणा गर्दै वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले कार्यक्रममा आफू उपस्थित भएर मोतीको जीवन र योगदानबारे विभिन्न कुराहरु थाहा पाएको र कार्यक्रम कक्षामा बसेर ज्ञान लिएजस्तै लाभदायक भएको बताए ।
कलाबारे होस् वा अन्य कुनै पनि क्षेत्रको संरक्षण र प्रचार गर्नका लागि पत्रकारिताको भुमिका प्रमुख र एकदमै ठूलो हुने भएकाले चित्रकलालाई आजको समयमा पत्रकारिताले महत्वको विषय बनाउनुपर्ने बताए । सञ्चारमा चित्रको महत्त्व ठूलो रहेको र कार्टुनसँगै चित्रकलालाई पनि पत्रकारितामा समेट्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रमका सभापती समेत रहेका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले पत्रकारिताले आफ्ना वरपरका गतिविधि तथा खुल्ला समाज र समाजका सबै क्षेत्रका बारेमा अध्ययन र चर्चा गर्नुपर्ने र त्यसका लागि पत्रकारले पनि ज्ञान लिन र चासो राख्नु आवश्यक रहेको बताए । कार्यक्रममा समापन मन्तव्य राख्दै डा. अर्यालले हाम्रो लेखनयात्रा वा पत्रकारिताको इतिहास अन्य धेरै देशको तुलनामा गौरव गर्न लायक भएको बताउँदै पत्रकारिताका विद्यार्थीले सीप र ज्ञानसँगै त्यसलाई व्यवहारमा ल्याउन पनि जोड दिनुपर्ने बताए ।
सहभागि सबैलाई धन्यवाद दिदै उनले मोतीराम भट्ट र भट्टले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानबारे यस किसिमले बृहत चर्चा भएको कार्यक्रम आयोजना गर्न पाउँदा आफू लगायत विभाग निकै खुशी भएको र थप कार्यक्रमका लागि उर्जा मिलेको बताए ।
भारतको वनारसमा विक्रम संवत् १९४३ मा गोर्खा भारत जीवन प्रकाशन गरेर उनले नेपाली पत्रकारिताको पहिलो ईंटा राखेका थिए । यसका साथै पहिलो पुस्तक छापा गरी प्रकाशमा ल्याउने पहिलो व्यक्ति पनि उनी नै हुन्। मोतीराम भट्टलाई नेपाली आधुनिक सञ्चारका माध्यमहरू पत्रिका, पुस्तक, जीवनी लेखन, नाटक लेखन तथा मञ्चन, सम्पादन तथा अन्वेषकका संस्थापकका रूपमा वक्ताहरूले प्रकाश पारे ।