Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना

सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको र कुहिएको दाल, कुहेको अण्डा पाइएको हो ।

निरीक्षणका क्रममा सरसफाइ सामान्य अवस्थामा रहेको भएपनि अनुगमनका क्रममा स्पष्ट रूपमा घुन लागेको करिब सत्र किलो चना दाल, ओसिएको करिब एघार किलो बदाम तथा केही भाग फुटेका चौध वटा अण्डा भेटिएको थियो । अनुगमन टोलीले ती घुन लागेको, ओसिएको तथा बिग्रिएका खाद्य वस्तु तत्काल नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार खाद्य स्वच्छताका मापदण्ड पालना नगरी गुणस्तरहीन खाद्य पदार्थ भण्डारण तथा प्रयोगका लागि राखिएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान अनुसार सम्बन्धित क्यान्टिन संचालक जी एण्ड बी क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।