Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

‘जब हिमाल मुस्कुराउँछ’

विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औं विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो । ‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० भन्दा बढी तस्बिरहरु राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यस्ता प्रदर्शनीले फोटोग्राफरहरुको क्षमता प्रस्फुटनमा ऊर्जा थप्ने बताए । ‘यो प्रदर्शनीले धेरै कुराहरूलाई सहयोग पुर्‍याएको छ, प्रदर्शनीमा राखिएका तस्बिरमा हाम्रा हिमालहरुको प्राकृतिक महत्वलाई उजागर गरेको छ, हाम्रा हिमालको अहिलेको अवस्थालाई चित्रण गरेको छ, जलवायु परिवर्तनको असरका बारेमा हामीलाई सुसूचित गरेको छ, एउटा तस्बिरले हजार शब्दमा व्यक्त गर्न नसकिने तथ्यहरुलाई व्यक्त गर्छ भनिन्छ, यो प्रदर्शनी धेरै दृष्टिकोणबाट महत्व राख्ने खालको छ’, उनले भने ।

New Project (4).png

प्राकृतिक मनोरम दृश्यले पर्यटकको आकर्षक बढाउने हुँदा यस्ता प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ । उनले जलवायु परिवर्तनको असरले हिमालमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न काम गर्नुपर्ने सन्देश तस्वीरमार्फत देखाएको बताए ।

हरेक वर्षको अगस्त १९ तारिखलाई विश्व फोटोग्राफी दिवसको रुपमा संसारभरका फोटोग्राफहरुले उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपालमा सन् १९९७ मा राष्ट्रिय फोटो पत्रकार समूहको स्थापना भएसँगै प्रत्येक वर्ष विश्व फोटोग्राफी दिवस मनाइँदै आएको छ । फोटोग्राफीको इतिहास बुझाउन, अग्रज फोटोकारको सम्मान र अनुजलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

विश्व फोटोग्राफी दिवसको सन्दर्भ पारेर विश्वमा जलवायुको असरका कारण परेको असर र त्यसका कारण हाम्रा हिमालहरु पग्लिँदै गइरहेको अवस्थालाई दृष्टिगत राख्दै हिमाल बचाउ अभियानलाई सार्थकता दिन प्रदर्शनी आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

‘नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन, सांस्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले यो प्रदर्शनी राखिएको हो, नेपाललाई विश्वसामु चिनाउन, पर्यटन प्रवद्र्धन गर्नाका साथै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिमा प्रदर्शन महत्वपूर्ण हुने विश्वास छ, व्यावसायिक फोटोग्राफरहरुका लागि हौसला प्रदान गर्न सहयोग मिल्नेछ भन्ने विश्वास छ’, अध्यक्ष वन्तले भने ।

फोटोग्राफी क्यामेराको जननी मानिने ‘क्यामेरा अब्स्क्युरा’ बाट सुरु भएको थियो । विश्वमा श्यामश्वेत छविचित्र अनि फोटो ट्रान्समिटरका ती उदेकलाग्दा पर्खाइ छिचोल्दै फोटोग्राफी हरेक मान्छेको पहुँचमा आइपुगेको छ । विश्वमा फोटोग्राफीसम्बन्धी कल्पनाको उदय भएको झण्डै दुई सय वर्ष हुँदा फ्रान्समा यस क्षेत्रमा निकै अनुसन्धान र प्रयोगहरू भएका थिए । अँध्यारो कोठामा झ्यालढोकाको मसिनो प्वालबाट बाहिरको घामको किरण छिरेपछि उत्पन्न आकृति देखेका वैज्ञानिकहरूले ती आकृति सधैँका लागि कैद गर्ने प्रयासमा लागे । 

New Project (5).png

यसैबीच, सन् १८२६ मा जोसेफ निसेफोर नियप्सले आफ्नो घरको कौसीबाट देखिने दृश्यको फोटो करिब आठ घण्टा लगाएर खिचे । त्यही फोटो विश्वको पहिलो फोटोग्राफिक आकृति बन्यो । अस्पष्ट देखिने त्यो फोटोमा केही आकार र प्रकार मात्र देखिन्छ । पछि आएर सन् १८३८ मा लुइस डेगुरेले अझ प्रस्ट देखिने फोटोको आविष्कार गर्न सफल भए । त्यसबेलाको फोटो अहिलेको झैँ स्थायी रूपमा रहिरहने खालको थिएन । त्यो कालखण्डमा तस्बिर खिच्न आठ घण्टा लाग्थ्यो ।

सन् १८३९ मा मात्र व्यावहारिक रूपमा सफल फोटोको आविष्कार भयो । त्यसबेला खिचिएको सडकको दृश्यचित्रलाई प्रथम प्रस्ट चिनिने आकृतिसहितको सही फोटो मान्न सकिन्छ । वीरशमशेरका पालामा डम्बरशमशेरले नेपालमा फोटोग्राफीको सुरुआत गरेको मानिन्छ । बालकृष्ण समका छोरीपट्टिका नाति नवीनप्रकाशजङ्ग शाहका अनुसार, डम्बरशमशेरलाई वीरशमशेरले पुरस्कारस्वरूप बेलायत र जर्मनीबाट जति पनि सामान भन्सार छुट गरी झिकाउने सुविधा दिएका थिए । त्यो बेलादेखि सुरु भएको नेपाली फोटोकारिता अहिले धेरै अगाडि बढिसकेको छ । यसमा नेपालका धेरै फोटोग्राफरहरूको महत्वपूर्ण भूमिका छ ।